
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । यो उनको करियरकै उच्च स्कोर हो । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रनगति बढाएका थिए ।
दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे । त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए ।
६८-३ को अवस्थाबाट रोहितसँग मिलेर ५५ रनको साझेदारी गरेका आरिफले रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्याएर आउट भएका थिए ।