
काठमाडौं— नेपालले विश्वकप क्रिकेट लिग–२ मा सोमबार स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको छ । करणले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम एक बल बाँकी हुँदा पूरा गरेको हो ।
नेपाललाई अन्तिम दुई ओभरमा २५ रनको आवश्यकता थियो । करणले १९ औं ओभरमा साफयान सरिफलाई १ छक्का र २ चौकासहित १८ रन प्रहार गरेपछि नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रनको आवश्यकता थियो । तर सन्दीप लामिछाने अन्तिम ओभरको पहिलो बलमा आउट भए । त्यसको अर्को बल वाइड भएको थियो ।
त्यसपछि आएका रिजन ढकालले तेस्रो बलमा १ रन जोडर करणलाई स्ट्राइक दिए । करणले चौथो र पाँचौ बलमा २–२ रन जोडेका थिए । अन्तिम बलमा वाइड भएपछि नेपालले ठूलो लक्ष्य पछ्याउन सफल भयो । प्लेयर अफ द म्याच करण ४१ बल खेली ३ चौका र ४ छक्का प्रहार गरी ६५ रनमा अविजित रहे । लिग २ का १३ खेलमा नेपालको यो तेस्रो विजय हो ।