Mero Chitwan
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट आज सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन लागेको हो । १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । 

आगामी बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता जनाइएसकेका छन् । त्यस्तै बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने पनि उनले बताएका छन् । अर्थ मन्त्रालयका अनुसार सङ्घीय बजेटमा आयोजना बैङ्कमा नपरेका र तीन करोड रुपियाँभन्दा कमका आयोजना पर्ने छैनन् । 

बजेट सार्वजनिक हुनुपूर्व वृद्धभत्ता प्राप्त गर्ने उमेर बढाइने, आयकरको स्ल्याब बढाइने र कर्मचारीको तलब बढाइने जस्ता विषयले चर्चा पाएका छन् । सामाजिक सुरक्षामा बढ्दो दायित्वका कारण पनि सरकारले वृद्धभत्ताको उमेरमा हेरफेर गर्ने तयारी गरेको हो । त्यस्तै निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्था अनुसार प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर र महँगीको आधारमा तलबमा पुनरवलोकन गर्नुपर्ने व्यवस्थाका कारण तलब बढाउनुपर्ने कानुनी बाध्यता अर्थ मन्त्रालयलाई छ । 

स्रोत व्यवस्थापनका लागि विद्युतीय सेवा र विद्युतीय सवारीमा लाग्दै आएको करमा हेरफेर गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । नपुग स्रोत भने सरकारले बाह्य र आन्तरिक ऋणबाट पूर्ति गर्ने छ । आगामी आवका लागि सरकारले साढे छ खर्ब रुपियाँको घाटा बजेट ल्याउन सक्ने गरी सिलिङ समितिले तोकेको छ । 

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुपूर्व संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update