Mero Chitwan
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए । 

उनले आफूलाई संलग्न देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत् अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको जिकिर गरे । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको बताउँदै राजनीति पूर्वाग्रहले प्रेरित भएको बताए। 

उनले भने, “यो विषयमा मेरो संलग्नता देखाएर समाचारहरू र सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु । मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ । षड्यन्त्रमुलक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु ।”

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update