Mero Chitwan
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा 

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नरको नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । यससँगै शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र का‌ंग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अब डा पौडेल नै गभर्नर बन्ने भएका छन् ।

शनिबार ओलीसँगको सहमतिपछि देउवाले डा. पौडेललाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर गभर्नर नियुक्त गर्न लागेकाले सिफारिस समितिबाट राजीनामा दिन भनेको जनाइएको छ । 

प्रा. डा. पौडेल अहिले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)का प्राध्यापक छन् । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष लगायत पदमा रहेर उनले काम गरिसकेका छन् ।

अर्थमन्त्री संयोजक रहेको समितिमा पौडेल सदस्य रहेकोमा राजीनामा दिएका हुन् ।  उनीसँगै राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी पनि समितिमा सदस्य छन् । यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिको बैठक नराखेको भन्दै सदस्यबाट राजीनामा दिएका थिए । 

अब पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको सदस्य पद फेरि खाली भएको छ । राष्ट्र बैंकको रिक्त रहेको गभर्नर पदमा एक महिनाभन्दा बढी समयदेखि सरकारले नियुक्ति गर्न सकेको छैन । 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update