
जयपुर —वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।
९ दिनअघि लखनउ सुपर जायन्ट्सको खेलबाट आईपीएलमा ‘डेब्यु’ गरेका सूर्यवंशीले जयपुरमा तुफानी इनिङ्स खेलेका थिए । आईपीएल इतिहासमा पनि यो दोस्रो सबैभन्दा कम बल खेलेर बनेको शतक हो । क्रिस गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्दै ३० बलमै शतक पूरा गरेका थिए ।
देब्रेहाते ब्याटर सूर्यवंशीले ३८ बलमा १ सय १ रन बनाएपछि राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ ओभरमै २ सय १२ रन बनाई पूरा गरेको थियो । प्लेयर अफ द म्याच समेत बनेका सूर्यवंशीले ११ छक्का र ७ चौका प्रहार गरे । सूर्यवंशी र यशस्वी जयसवालले १ सय ६६ रनको साझेदारी गरेका थिए, जुन राजस्थानको पहिलो विकेटमा सबैभन्दा ठूलो साझेदारी हो । सूर्यवंशी १२ औं ओभरमा आउट भएपछि यो साझेदारी टुटेको थियो ।
सूर्यवंशीलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे । त्यसपछि आएका नितिश रानाले ४ रनमात्र बनाउन सके । जयसवाल ७० र रियान पराग ३२ रनमा अविजित रहेर राजस्थानलाई जित दिलाए । जयसवालले ४० बल खेल्दै ९ चौका र २ छक्का तथा परागले १५ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे । यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ९ रन बनाएको थियो । कप्तान शुवमन गिलले ५० बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरी ८४ रन बनाए । साई सुदर्शन ३० बलमा ३९, जोस बटलर २६ बलमा ३ चौका र ४ छक्कासहित अविजित ५० रन बनाए ।
यस हारपछि गुजरातले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । गुजरात नेट रनरेटमा तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने मुम्बई इन्डियन्स खेल्दै नखेली दोस्रो स्थानमा उक्लिएको छ । लगातार ५ हारको यात्रा टुंग्याएको राजस्थानको १० खेलमा ६ अंक छ ।