मेरो चितवन
स्वतन्त्र पार्टी अब बहुलवादी लोकतान्त्रिक, उपसभापतिमा वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो । 

बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै सम्पन्न भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । बैठकले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा मुकुल ढकालको वैचारिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ । यसैगरी बैठकले पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सह–महामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं तथा सह–कोषाध्यक्षमा दीपक बोहोरालाई मनोनित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १४ सांसदलाई केन्द्रीय समिति सदस्य बनाउने र प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य स्वीकार गर्दै केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई मनोनीत गर्ने निर्णयसमेत गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले २१ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

केन्द्रीय सचिवालयमा पदाधिकारी सभापति लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले, महामन्त्री डा ढकाल, सहमहामन्त्रीत्रय कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्षद्वय वसुमाया तामाङ र दीपक बोहोरा छन् । त्यसबाहेक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारसमेत सचिवालयमा मनोनीत हुनुभएको छ भने बाँकी सदस्य पछि मनोनीत गरिने विज्ञप्तिमा उल्लेख छ । राजनीतिक मार्ग ‘बहुलवादी लोकतन्त्र’ तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने ‘बहुलवादी लोकतान्त्रिक’ हुने समेत प्रष्ट पारेको छ । बैठकले पार्टीको मूल राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको पनि उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०