Mero Chitwan
लोप हुँदै गुन्द्री बुन्ने परम्परा

 कैलाली : पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम हुँदै गएको छ ।

बजारमा कम मुल्यमा प्लाष्टिकका गुन्द्री पाइन थालेपछि बुनेका गुन्द्री बिक्न छाडेकाले स्थानीय बताउँछन् । बाबियो र जुटको तानमा पटेराको प्रयोग गरेर बनाइने गुन्द्री अहिले बिरलै देख्न पाइन्छन् । गाउँघरमा पक्की घर बनेसँगै घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै गएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगर टोलकी ५० वर्षीया भाग्गीदेवी सार्कीले विगत लामो समयदेखि पटेरोको गुन्द्री बुन्दै आउनु भएको छ । उहाँले पहिले सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बिक्री गर्ने गरेको बताउनुभयो । आजभोलि कहिलेकाहीँ मौत्र बुन्ने गरेको उहाँको भनाइ थियो ।

“पहिले गुन्द्री राम्रै बिक्री हुन्थ्यो । सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बेच्थ्यौँ । अहिले बिक्री हुँदैनन् । मेहनत पनि धेरै लाग्छ । त्यसैले कहिलेकाहीँ मात्रै गुन्द्री बुन्ने गर्छौँ”, सार्कीले भन्नुभयो, “यो गाउँमा पहिले करिब ६५ परिवारले गुन्द्री बुन्ने काम गर्नुहुन्थ्यो । अहिले चार/पाँच जनाले मात्रै बुन्छौँ ।” आजभोलि पटेरोको अभाव हुने भएकाले पनि गुन्द्री लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

लागत धेरै लाग्ने र बिक्री गर्न समस्या हुने भएकाले गुन्द्री बुन्ने चलन कम हुँदै गएको सोही गाउँका वीरबहादुर सार्कीले बताउनुभयो । ७२ वर्षीय वीरबहादुरले पुख्र्यौली पेसा भएकाले पहिलेदेखि नै गुन्द्री बुन्ने काम गर्दै आएको बताउँदै अहिले यसको प्रयोग घटेसँगै कहिलेकाहीँ मात्रै बुन्ने गरेको सुनाउनुभयो ।

“यसमा लागत र समय धेरै लाग्छ । पटेरो किनेर ल्याउनुपर्छ । बजारमा प्लास्टिकका गुन्द्री सस्तोमा पाइन्छन् । यसको एउटा गुन्द्री किन्ने पैसाले दुई प्लाष्टिकका आउँछन् । बिक्री गर्नै समस्या छ”, वीरबहादुरले भन्नुभयो, ““यसको महत्व बुझेकाले अझै पनि किन्नुहुन्छ । न्यानो हुन्छ भन्नुहुन्छ । पक्कीघरमा यसको प्रयोग गर्दा फोहर हुन्छ भन्छन् किन्न मान्दैनन् ।” पहिले सिजनमा दुई सय ५० वटासम्म गुन्द्री बुन्ने गरेको भन्दै अहिले १५/२० मात्रै बुन्ने उहाँले जानकारी दिनुभयो ।

अहिलेका पुस्तामा गुन्द्री बुन्ने सीप नै नभएको वीरबहादुरको भनाइ थियो । उहाँले भन्नुभयो, “नयाँ पुस्तामा यसको सीप नै छैन । काम पनि झन्झटिलो छ । गुन्द्री बुन्नलाई दुई जना अनिवार्य चाहिन्छ । नयाँ पुस्ताले कसैले पनि यो काम गर्दैनन् ।

” पुख्र्यौली पेसा नयाँ पुस्तामा हस्तारण हुन नसक्नु, बजारमा पाइने प्लास्टिकका सामग्रीले रैथाने सामग्रीलाई विस्थापित गर्नुलगायत कारणले गुन्द्री बुन्ने पेसा लोप हुँदै गएको धनगढी–६ की वडा सदस्य रीता मगराती (सार्की)ले बताउनुभयो । “सीप हस्तारण हुन नसक्दा गाउँघरमा गुन्द्री बुन्ने चलन कम हुँदै गएको हो”, उहाँले भन्नुभयो, “बजारीकरणमा पनि समस्या छ । यसलाई समयानुकूल आधुनिकीकरण गर्न सकिएको छैन् ।” यसका लागि आवश्यक पर्ने पटेरोको उत्पादन बढाउन सके केही सहज हुने उहाँको भनाइ थियो । 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update