मेरो चितवन
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा

काठमाडौँ-सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 

भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिइएको छ भने अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि कृष्णप्रसाद ओलीलाई  सिफारिस गरिएको छ।  

यस्तै  बेलायतमा चन्द्रप्रसाद घिमिरे, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल ,इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा  कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र मलेसियामा नेत्रप्रसाद तिमिल्सिनालाई  सिफारिस गरिएको छ ।

सरकारले  वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हेरफेर गरेको छ । वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । 

देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।

यसअघि वाग्मतीको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियार थिए । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

सचिवहरुको सरुवा

यस्तै सरकारले सचिवहरूको सरूवा गरेको छ । अर्थ सचिव मधुकुमार मरासिनीको ठाउँमा राजस्व सचिव रामप्रसाद घिमिरेलाई ल्याइएको छ । मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ । राजस्व सचिवमा उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले अन्य मन्त्रालयका सचिवहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ ।

उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ । त्यस्तै श्रम मन्त्रालयका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ भने अख्तियारका रामेश्वर दंगाल उद्योगमा सरूवा भएका छन् । श्रम मन्त्रालयमा मुकुन्दप्रसाद निरौलालाई ल्याएको छ । रक्षाका किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१