Mero Chitwan
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै  उम्मेदवारका एजेन्डा ?

चितवन– यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठ समूहले भने यसअघि नै आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्।  

पन्तले नारायणगढ बजारलाई थप व्यवस्थित बनाउन पार्किङ व्यवस्थापनका लागि पहल गर्ने, संघको विधान संशोधन गरी महिला उपाध्यक्षको आरक्षणको व्यवस्था गर्ने, संघमा रत्ननगर, खैरहनी तथा राप्तीलगायतका नगरपालिकाबाट समेत प्रतिनिधित्वको व्यवस्था गर्ने, पूर्व र पश्चिमबाट आउने सवारीसाधनालाई नारायगढ बजारसम्म आउने व्यवस्था गर्ने तथा व्यवसायी विमाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै, बैंकहरुले मनोमानी रुपमा बढाउने ब्याजको एकरुपताका लागि दबाब दिने, संघले सञ्चालन गर्ने चितवन महोत्सवको हिसाबकिताब ३५ दिनभित्र सार्वजनिक गर्ने, स्टल बुकिङमा हुने अनियमितता रोक्न अनलाइन प्रणालीको व्यवस्था गर्ने, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनको विकासका लागि पहल गर्ने र शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि जग्गा प्राप्तिका लागि पहल गर्ने पनि उनको योजना छ । 

ss-1704429812.jpg

नारायणी नदी किनारालाई थप व्यवस्थित बनाउँदै चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने, बजारका मुख्य सडकमा ठूला सवारीसाधनलाई रोक लगाउने, जनशक्तिको क्षमता अभिवृद्धि, उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गर्ने, झोलामा संघसंस्था राखेर सरकारी निकायमा दायित्व नतिर्ने व्यवसायीको छानबिन गर्ने र साना व्यवसायीका लािग पनि अभिभावकीय हकहितका लागि काम गर्ने पनि वाचा पनि उनले गरेका छन्। 

के छन् सुमनकुमार श्रेष्ठ समूहका एजेन्डा ?
अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठले भने यसअघि नै पत्रकार सम्मेलनमार्फत् आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् । उनले व्यवसायमैत्री नीति बनाउन सरकारलाई खबरदारी गर्ने तथा दबाबमूलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसको नेतृत्व आफूले गर्ने जनाएका छन् । श्रेष्ठले आफ्नो समूह सदैव उद्यमी व्यवसायीको पक्षको उभिने प्रतिबद्धता पनि जनाएका छन्। 

श्रेष्ठले उद्यमी व्यवसायीका सानादेखि नीतिगत समस्या सम्बोधन गर्न पहल गर्ने, व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजस्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको पहल गर्ने, बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिम नै ब्याजदर अन्तिम सम्मकायम गर्न सम्बन्धित निकायमा पहल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

suman-1704429858.jpg

यस्तै, व्यवसाय दर्ता, नवीकरणजस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने,  संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने, आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजस्व कार्यालय परिसरमा संघको कर तथा राजश्व परामर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्ने उनको योजना छ । 

 चितवनको समग्र विकासका लागि वृहत आर्थिक वहस कार्यक्रमको आयोजना गर्ने र वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र निजी क्षेत्र संलग्न उच्चस्तरीयसंयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने पनि श्रेष्ठले जनाएका छन्। 

सुमनकुमार श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्ष राजेन्द्र ओली, वस्तुगतरकर्पोरेटतर्फ उपाध्यक्ष नारायण प्रधान र उद्योगतर्फ उपाध्यक्ष अशोक अधिकारी उम्मेदवार छन्। 

सुमनकुमार समूहका प्रतिबद्धता

१ ) उद्यमी व्यवसायीमा देखिएको चरम निरासालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।

२) उद्यमी व्यवसायीको सानादेखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।

३) व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने ।

४) बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिमसम्म कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

५) व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।

६) संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।

७) आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्ने ।

८) चितवन जिल्लाको पूर्वि भाग र पश्चिम क्षेत्रबाट आउने सार्वजजिक सवारी साधनलाई नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने (पिक एण्ड ड्रप) को व्यवस्था गर्ने ।

९) चितवनको समग्र विकासको लागि बृहत आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने ।

१०) वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीय संयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।

११) संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।

१२) कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।

१३) स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवद्र्धन गरिने ।

१४) विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।

१५) स्थानीय, प्रदेश र संघीय सरकारसँगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।

१६) संघ र अन्तर्राष्ट्रिय उवासंघहरूसँग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवद्र्धन गर्ने ।

१७) एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल गर्ने ।

१८) नारायणगढलाई प्रवद्र्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित डिजिटल बोर्ड राख्ने ।

१९) संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।

२०) संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।

२१) मेला महोत्सवलाई व्यवस्थित र संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने

२२) सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।

२३) संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।

२४) संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।

२५) चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।

२६) सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने

२७) चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।

२८) सफलता प्राप्त “एक गाउँ एक उत्पादन“ कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग पहल गर्ने ।

२९) संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update