Mero Chitwan
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित

इलाम: चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । ।

किसानले समयमा मलखाद र बिउ पाएको र वर्षा राम्रो भएका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । गत वर्ष ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ, ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत वृद्धि भएको छ ।” केन्द्रप्रमुख बर्देवाका अनुसार यस वर्ष धानको उत्पादकत्व बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो ।

गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ ।  खेतलाई वर्षभरि मलजल गरेकाले राम्रै धान उत्पादन भएकोे छ । जिल्लामा गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको सरकारी तथ्याङ्क छ ।

परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको अपनाएसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापन गरेर धान उत्पादन बढाउने तयारी धेरै किसानको छ ।ज्ञान केन्द्रले किसानलाई विभिन्न मेसेरेनरी तथा उपकरण अनुदानमा दिएको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको उनको विश्वास छ । किसानले पनि उन्नत बीउबिजनको प्रयोग गरी मल र सिँचाइको व्यवस्थापन गरेकाले क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ । जसमध्ये माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिका धानखेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update