Mero Chitwan
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । तर हिक्मत कार्कीको नियुक्तिविरुद्ध आजै निवर्तमान मुख्यमन्त्री केदार कार्की अदालत पुगेका छन् । 

यसअघि कोशी प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना प्रदेशसभा सदस्यको समर्थनसहितको हस्ताक्षर सनाखत गरेका थिए । खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिजो राति सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्कीले आज दाबी पेश गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक थियो।

कार्की यसअघि  २०७९ पुस २९ गते पहिलोपटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिएका थिए । 

सर्वोच्च अदालतको परामादेशपछि २०८० भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले असोज २० मा फेरि राजीनामा दिएका थिए । 

यसैबीच, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  आजै दिउँसो मुख्यमन्त्री कार्कीका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर  गरेकी हुन्।

केदार कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गरेका छन्। संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालेकी हुन्।

कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्‍तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update