Mero Chitwan
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च

काठमाडौँ : कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेस सर्वोच्च अदालतमा पुगेको हो । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले अब ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारी गर्न माग गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा ३० मत अधिकारीले पाएका थिए । बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ । तर प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गरेका थिए । उनले बराबरी भएको अवस्थामा सभामुखले मत दिन पाउने अधिकार समेतको ख्याल गर्न भन्दै उनले अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।

सभामुखले यसरी गरेको घोषणा कपटपूर्ण भएको पाण्डेको रिटमा दाबी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update