Mero Chitwan
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौँः पटक-पटक फुट बेहोर्दै आएको सत्तारुढ जनता समाजवादी पार्टी पुनः फुटेको छ। अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको आरोप लगाउँदै अशोक राई नेतृत्वमा पार्टी विभाजन भएको हो । जसपाका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्दै निवेदन दिएका छन् ।

 सांसद सुशीला श्रेष्ठले ७ जनाबाहेक आफूहरुसँग अन्य सांसद पनि रहेको दाबी गरेकी छन् । आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको उनको जिकिर छ ।  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेकोे छ ।

जसपाको सङ्घीय संसद्मा १२ सांसद छन् । उनीहरुमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा  हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहनुभएको छ । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update