Mero Chitwan
विश्वकप खेल्ने टोलीमा नपरेपछि सन्दीपले भने–ममाथि षडयन्त्र गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्नेछु

काठमाडौं–बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा अब कुनै शंका नरहेको बताएका छन्। टी–ट्वेन्टी विश्वकप खेल्ने टोलीमा आफू नपरेपछि निराशा व्यक्त गर्दै उनले अब आफूले सबै कुरा भगवानमाथि छाड्ने बताएका हुन् ।

गत डिसेम्बरदेखि नै सामाजिक सञ्जालबाट टाढा रहेका सन्दीपले हिजो विश्वकप खेल्ने टोली सार्वजनिक भएलगत्तै लगातार तीन वटा स्टाटस लेखेका थिए । पहिलोमा इमोजीमात्रै राखेका उनले दोस्रो स्टाटसमा आफू षडयन्त्रको शिकार भएको उल्लेख गर्दै समयले नै सत्यकुरा सबै ल्याउने बताएका हुन् । ‘अब मलाई कुनै शंका छैन कि म षडयन्त्रको शिकार भएको छु, भगवानले उनीहरु सबैलाई आशिर्वाद देउन्, जसले मविरुद्ध यस षडयन्त्रमा भूमिका निर्वाह गरे ।’

उनले आफूविरुद्धको षडयन्त्रमा संलग्न सबैको नाम चाँडै सार्वजनिक गर्ने पनि बताएका छन्। दोस्रो स्टाटसको केही घण्टापछि उनले लेखेका छन्, ‘म अदालतको आदेशको सम्मान र पालना गर्छु, तर म सबैसँग वाचा गर्छु, यो षडयन्त्रमा भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिको नाम चाँडै सार्वजनिक गर्नेछु ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update