Mero Chitwan
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

काठमााडौं- यसपटकको उपनिर्वाचनमा इलाम र बझाङमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । 

इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ तथा सशस्त्र बलका ५ सय ५०  सुरक्षाकर्मी परिचालन हुने सुरक्षा निकायहरुले जानकारी दिएका छन् । इलामका ४१ मतदान केन्द्रलाई संवेदनशील र ७१ मतदान केन्द्रलाई सामान्य रूपमा वर्गीकरण गरिएको छ । इलाममा समान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील क्षेत्रमा १२ देखि १७ जना रहने प्रहरीले जनाएको छ । 

यस्तै बझाङमा १ हजार २४ जना नेपाल प्रहरी तथा ४ सय सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिनेछ । सुरक्षाा निकायले त्यहाँ ३० वटा मतदान केन्द्र संवेदनशील र ३१ मतदान केन्द्रलाई सामान्य रुपमा वर्गीकरण गरेको छ । 

भोलि हुने इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा उपनिर्वाचनमा सुरक्षाको तयारी पूरा भएको प्रशासनले जनाएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ।

दुवै क्षेत्रको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले मतदाता, मतदानस्थल, मतपेटिका, उम्मेदवार र विशिष्ट व्यक्तिको सुरक्षाका लागि चाहिने सबै सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसपटकको निर्वाचनमा मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरीले गर्ने भएको छ भने मतदानस्थल बाहिरको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले गर्ने भएको छ। 

दुवै निर्वाचन क्षेत्रमा नेपाली सेनासमेत परिचालन हुने भएको छ। सेनाले भने निर्वाचन क्षेत्रभरिको अवस्थाको विश्लेषण गरी पेट्रोलिङ गर्ने र सुरक्षाको अवस्थाको बारेमा जानकारी लिने काम गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update