Mero Chitwan
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद

रौतहट-रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसँगै मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला सुनाएको हो । २०७६ असोज २६ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालतले कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा छन् । पुर्पक्षमा पठाएको करिब ५ वर्षपछि अदालतले मुद्दाको अन्तिम फैसला गरेको हो ।

आलममाथि राजापुर बमकाण्डका घाइते ओसी अख्तर र त्रिलोकप्रताप सिंहसहित अन्य केहीलाई जिउँदै इट्टाभट्टामा जलाएको अभियोग लागेको थियो । संविधानसभाको पहिलो निर्वाचनको एक दिनअघि २०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा विस्फोट भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update