काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु भएको छ ।
‘समृद्धिका लागि संकल्प यात्रा, २०८०’ नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ अभियान सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर अभियानको थालनी गरेका हुन् । अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारीहरु झुलाघाट पुगेका छन् ।
बैतडी पुगेका अध्यक्ष ओली र उनकी पत्नी राधिकाले हिजो दशरथचन्द नगरपालिकामा रहेको निङालासइनी देवीको दर्शन तथा पूजासमेत गरेका थिए ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने जानकारी दिइएको छ ।
गत कात्तिक २२ गते बसेको एमाले सचिवालय बैठकले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
एमालेले मेची-महाकाली छिचोल्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा यात्रा गरेर कार्यकर्ता भेट्ने र सुझाव संकलन गर्ने कार्यपालिका बनाएको छ । यसअघि उसले २०७३ फागुनमा १५ दिने मेची-महाकाली अभियान चलाएको थियो । संविधान जारी भइसकेको त्यस समयमा एमालेले संविधाने कार्यान्वयन, सामाजिक सद्भाव बढाउने र राष्ट्रिय एकता मूल उद्देश्य राखेको थियो ।
यसपटक भने पहाडको समस्या के हो, किन पूर्वाधार र उत्पादनमा जोडिन सकेको छैन्, बसाइँसराइँ रोक्दै कसरी पहाडलाई समृद्धिको बाटोमा डोर्याउन सकिन्छ भनेर बुझ्ने उद्देश्य रहेको एमालेको दाबी छ ।
अभियानले विकास निर्माणका आवश्यकता र चुनौती पहिल्याउने तथा आर्थिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने नेताहरूको भनाइ छ । आज बिहान झुलाघाटदेखि सुरु भएको अभियानअन्तर्गत विभिन्न २० स्थानमा कार्यक्रम र सुझाव संकलन गर्ने एमालेले जनाएको छ