Mero Chitwan
एमाले प्रतिवेदन : पार्टीभित्र गुटबन्दी मौलायो, प्रमुख स्रोत नै केन्द्रीय नेता

काठमाडौं–सत्तारुढ नेकपा एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पार्टीभित्र मौलाएको गुटबन्दीको विषय चर्को रुपमा उठेको छ । 

बैठकमा प्रस्तुत केशब बडाल अध्यक्ष रहेको केन्द्रीय अनुशासन आयोगको प्रतिवेदनमा पार्टीभित्र गुटबन्दी बढ्दै गएको र गुटगत गतिविधिको स्रोत केन्द्रीय नेता नै भएको औंल्याइएको हो । अमृत बोहरा अध्यक्ष रहेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा पनि गुटबन्दी मौलाएको विषयलाई प्रमुखताका साथ उठाइएको छ। 

‘गुटगत गतिविधिको मुख्य स्रोत मु्ख्यगरी केन्द्रीय नेताहरु भएको देखियो । प्रदेश र जिल्ला तहका केही नेताहरुले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको देखियो,’ अनुशासन आयोगको प्रतिवेदनमा भनिएको छ,‘नेतृत्व चयन गर्ने विषयमा अधिकांश ठाउँमा कतिपय केन्द्रीय नेताहरु समूहगत रुपमा विभाजन भएको देखिएको छ ।’

emale1-1713631088.JPG

सार्वजनिक रुपमा गुटको विपक्षमा देखिए पनि कतिपय नेताहरुले आन्तरिक रुपमा गुट निर्माण गर्ने र सञ्चालन गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘अधिवेशनका दौरान कतिपय नेताहरु आफ्नो महत्वाकांक्षा पूरा गर्न केन्द्रीय नेताहरुलाई सिरानीमा राखेर गुटगत प्रचार गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ। 

यस्तै, अनुशासन आयोगका निर्णय कार्यान्वयन गर्न पनि केन्द्रीय कार्यालय र मातहतका कमिटिहरु उदासिन भएको प्रतिवेदनमा उल्लेख छ । आयोगको निर्णयलाई निस्तेज गरी समानान्तर प्रशिक्षण राखिएको उल्लेख गर्दै प्रतिवेदनमा कामको विशिष्टता र प्रभावकारिताभन्दा आडम्बर देखिनु दुःखद भनिएको छ। आयोगले पार्टीभित्र अनुशासन कायम गर्न आचारसंहितालाई कडाइका साथ पालना गर्न पनि सुझाव दिएको छ । 

emale3-1713631088.JPG

अनुशासन आयोगमात्र नभई केन्द्रीय सल्लाहकार परिषद्ले पनि पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीको विषय औंल्याएको छ । प्रतिवेदनमा भनिएको छ, ‘अहिले पनि विभिन्न तहमा स्थानीय अन्तरविरोध चलिरहेका छन् र तिनले गुटगत स्वरुप लिँदैछन् । यो विशेषगरी विभिन्न तहका अधिवेशनहरूमा राम्ररी नै देख्न पाइन्छ ।’

sallahkar-parishad-1713631096.JPG

परिषद् बैठक उद्घाटन समारोहमा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्द मौलाउँदै गएको स्वीकार गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update