Mero Chitwan
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ ।

बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।   परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

  यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । 

 हिजो आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

 एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उनको भनाइ थियो । 

बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए । उनका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको  कार्यविभाजनको पनि समीक्षा गरिनेछ । वार्षिक कार्ययोजनालाई आगामी दिनमा परिषद् बैठकका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । यही वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नेछन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update