Mero Chitwan
कर्णाली प्रदेशमा पनि भागबन्डाकै किचलो , माओवादी र एमालेबीच कुरा नमिल्दा अझै भएन मन्त्रिपरिषद् बिस्तार

सुर्खेत-कर्णाली प्रदेशमा भागबण्डा नमिल्दा मुख्यमन्त्री यामलाल कँडेलले नियुक्तिको नौ दिन बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

मुख्यमन्त्री नियुक्त भए पनि माओवादी केन्द्र र एमालेबीचमै प्रदेश मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मुख्यमन्त्री कँडेलले भने छिट्टै सरकार विस्तार हुने प्रतिक्रिया दिएका छन् । 

केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बनेका थिए । 

यसअघि सरकारको नेतृत्वमा रहेको माओ‌वादीले अर्थ, सामाजिक, उद्योग र ऊर्जा विकास मन्त्रालय मागे पनि यसमा एमाले तयार छैन । मुख्यमन्त्री र सभामुख अहिले पनि एमालेकै हातमा छ । कुरा नमिलेपछि माओवादी सरकारमा सहभागी हुन मानेको छैन । सरकार बिस्तार हुन अझै वैशाख ११ सम्म लाग्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाइले बताए । 

नेकपा (माओवादी केन्द्र) प्रदेशसभाका प्रमुख सचेतक रनसिंह परियारले  मन्त्रालय भागबन्डामै कुरा नमिलेको बताए । “यसको सहजीकरण सरकारको नेतृत्व गरिरहेको दलले गर्ने हो । मुख्यमन्त्री कँडेलले अझ बढी लचकता अपनाउनुपर्छ ।” उनले भने । 

 मतभेदको कारण

केन्द्रमा लोकतान्त्रिक–वाम गठबन्धन रहँदा नेकपा (माओवादी केन्द्र) का तर्फबाट राजकुमार शर्मा मुख्यमन्त्री थिए ।  केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत फागुन २२ गतेबाट सरकारबाट समर्थन फिर्ता लिएर बाहिरियो ।

 कांग्रेसले समर्थन फिर्ता लिएपछि रिक्त रहेका तीन मन्त्रालय एक महिनासम्म मुख्यमन्त्री शर्मा आफैँले सम्हाले । मुख्यमन्त्री शर्मा नेतृत्वको सरकार सत्ता गठबन्धन नेकपा एमाले तथा एकीकृत समाजवादीको समर्थनमा चैत २० गते विश्वासको मत लिने तयारीमा थियो, तर केन्द्रीय सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री नेकपा एमालेलाई दिने चैत १९ गते सर्कुलर आयो । त्यसपछि कर्णालीमा माओवादी केन्द्र बिच्कियो । माओवादी केन्द्रले दलको बैठक राखेर केन्द्रीय सहमति नमान्ने निर्णय समेत गर्‍यो ।

मुख्यमन्त्री एमालेलाई दिने केन्द्रको सहमतिअनुसार वातावरण बनाउन सत्ता गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रबीच लामो छलफल भयो तर   शर्माले विश्वासको मत लिने अडान छाडेनन् । यसैबीचमा चैत २० गतेको प्रदेशसभा बैठकमा उनले राजीनामा दिए । 

एमाले–माओवादीबीचमा भागबन्डा नमिल्दा नमिल्दै संवैधानिक सङ्कट टार्न भए पनि चैत २७ गते नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले एमाले, माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे । सोही दिन नेता कँडेल मुख्यमन्त्री नियुक्त भए । तर माओवादीले आफूले रोजेको मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमति नहुँदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् हालसम्म विस्तार हुन सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update