Mero Chitwan
अन्त्य भयो संसद्को हिउँदे अधिवेशन

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट लागु हुनेगरी अन्त्य भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै विपक्षी दलका सांसदले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका विषय हटाउँदै संसद अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । 

 सभामुख घिमिरेले यस अधिवेशनमा भएका कामको विवरण संसद्लाई जानकारी गराएर राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सुनाएर संसद् अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो । सोही कारण गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update