Mero Chitwan
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित

काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ‍‍‍‍३२ रनले पराजित गरेको छ । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतार १७८ रनमै समेटिएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।

 दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रन बनायो । नेपालको ओपनिङमा आएका कुशल भुर्तेल र आसिफ सेखले १८ रनको मात्र साझेदारी गरे । कुशल भुर्तेल १२ रनमै आउट भए । रोहित पौडेलले १८ र कुशल मल्लले ३५ रन जोडे । आसिफ सेखले ५२ रनको अर्धशतकीय पारी खेले । पाँचौं नम्बरमा मैदान प्रवेश गरेका दीपेन्द्रसिंह ऐरीले २१ बलमा ६४ रनको पारी खेले । उनले २०औं ओभरमा ६ छक्का प्रहार गरेर पहिलो पारीको सानदार अन्त्य गरेका थिए ।

कतारका हिमांशु राथोड र मुसावर साहले समान तीन-तीन विकेट लिए । जवाफमा कतारले नौ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । ओपनर कमरन खान १८, मोहम्मद अहनफ २३ र मोहम्मद तानविर ६३ रनमा आउट भए । हिमांशु २२ रनमा अविजित रहे ।

नेपालका लागि ललित राजवंशी, दीपेन्द्र र गुल्सन झाले दुई/दुई विकेट लिए । हिजो भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । कतारले भने आफ्ना सुरुआति दुवै खेलमा हार बेहोरेको छ । आजै भएको अर्को खेलमा मलेसियाले साउदी अरेबियालाई १२ रनले हराएको छ । १४७ रनको लक्ष्य पछ्याएको साउदी अरेबिया १३४ रनमा अलआउट भएपछि मलेसियाले पहिलो जित दर्ता गरेको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update