काठमाडौं-गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । चितवन एफसीका कप्तान विशालले नेपाल सुपर लिगमा आज (शुक्रबार) झापालाई दुई-शून्य गोलले हराएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टिमको जिम्मेवारीबाट आराम गर्ने निर्णय लिएको बताएका हुन् ।
जारी लिगमा विशालको टिम चितवनको यो अन्तिम खेल हो । नयाँ गोलकिपरलाई अवसर दिनुपर्छ भन्ने सोचका साथ संन्यास लिएको उनको भनाइ छ । भारतको बैंगलोरमा साफ च्याम्पियनसिप भइरहेका बेला संन्यासबारे सोच बनाए पनि अहिले घोषणाको उपयुक्त समय भएको विशालले बताए ।
घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
राष्ट्रिय टिमको स्क्वाडमा परेको एक दशकपछि उनले डेब्यु पाएका थिए । त्यही नै उनको पहिलो र अन्तिम खेल बन्यो । विशाल एन्फा एकेडेमीका उत्पादन हुन् ।