Mero Chitwan
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा गण्डकी र महिलातर्फ बागमतीलाई उपाधि

भरतपुर-अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । भरतपुर गेष्टहाउस चौरमा शुक्रबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो ।

गण्डकीले २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा कोशीलाई पराजित गरेको हो । कोशीले रजत पदकमा चित्त बुझायो भने सुदूरपश्चिम प्रदेशले कास्य पदक हात पार्‍यो ।

प्रतियोगितामा गण्डकीका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने बेस्ट स्पाइकर गण्डकीकै सरोज बर्देवा, बेस्ट सेटर गण्डकीकै सुजन चोखाल, बेस्ट डिफेन्डर गण्डकीकै कुञ्जन शाही ठकरी, बेस्ट ब्लकर कोशीका पुकार तामाङ र बेस्ट सेभर सुदूरपश्चिमका बलदेव सिंह धामी भए । 

यसैगरी, महिलातर्फको उपाधि बागमती प्रदेशले उचालेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१२ मा जित्यो भने तेस्रो सेट २५–८ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

उपविजेता बनेको गण्डकी रजत पदक जित्यो भने लुम्बिनी प्रदेशले कास्य पदक हात पार्‍यो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर बागमतीकी सलिना बुढामगर, उत्कृष्ट ब्लकर लुम्बिनीकी आरती चौधरी, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट सरभर गण्डकीकी अरुणा शाही, उत्कृष्ट डिफेन्डर बागमतीकी एन्जिला प्रधान र उत्कृष्ट खेलाडी बागमतीकै सुमित्रा रेग्मी भए । उत्कृष्ट प्रशिक्षकको अवार्ड बागमतीका कुमार राईले प्राप्त गरे । विजेताहरुलाई बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहालले पुरस्कार वितरण गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update