Mero Chitwan
राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन आज

काठमाडौं-राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ ।  माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि निर्वाचन हुन लागेको हो। 

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

उपाध्यक्ष चयनका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् ।

एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् ।

त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ । सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने पक्काजस्तै छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update