Mero Chitwan
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

भरतपुर- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । 

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त गर्‍यो । उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त गर्‍यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गरे । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट हुनुभयो भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल भइन् । फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेल्नुभयो । उनले ४४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरिन् । लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाइन् । 

 बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेल्नुभयो । उहाँले २ चौका र एक छक्का प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले १७ रन बनाइन् ।  बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले तीन तथा रितु कनौजिया र स्नेहा महराले समान २–२ विकेट लिए । 

 कविता प्लेयर अफ दि म्याच भइन् । खेलकुद विकास परिषद् बागमतीको आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update