Mero Chitwan
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै

काठमाडौं-टेस्ट मुलुक वेस्ट इन्डिजको 'ए' टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउने भएको छ ।

नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ । विश्वकप जितेको कुनै पनि देशको ए टिम पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।

वेस्ट इन्डिजले २०१२ र २०१६ गरी दुई पटक टी-२० विश्वकप जितेको छ भने १९७५ र १९७९ मा एकदीवसीय विश्पकप जितेको छ ।

ओमानमा शुक्रबारदेखि सुरु हुने एसीसी मेन्स प्रिमियर कपपछि अप्रिल २५ देखि मे ५ सम्म नेपालले टीयू क्रिकेट मैदान कीर्तिपुरमा वेस्ट इन्डिजसँग सिरिज खेल्नेछ । हाल भारतमा रहेको नेपाली टोली त्यतैबाट मध्यपूर्व प्रस्थान गर्ने तालिका छ ।

यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२०आई विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपाल सम्मिलित समूह-डीमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update