Mero Chitwan
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह

काठमाडौं – नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजन चापागाईंले अब नयाँ ढंगबाट संगठन निर्माणमा लाग्न नेतृत्वलाई आग्रह गरेका छन् ।

नेविसंघ बैठकमा बोल्दै चापागाईंले अब ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता’ को नाराले मात्र विद्यार्थी र युवा संगठनमा जोडिन सक्ने स्थिति नरहेको बताए । उनले अब ‘उद्यमशिलता, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणः आजको आवश्यकता’ भन्ने किसिमले नयाँ ढङ्गबाट संगठन निर्माणमा लाग्नुपर्ने सुझाव दिए । 

नेपालबाट युवाहरु रोजगारीका लागि बाहिरिइरहेको, नेपालका खेतबारी बाँझो हुँदै गएको र अर्थतन्त्र परनिर्भर हुँदै गएको अवस्थामा नेपालमा विद्यार्थीहरुले नयाँ आशा जगाई स्वदेशमा नै उत्पादनसँग विद्यार्थी र युवाहरुलाई जोड्नका लागि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

संगठनभित्र सुशासन र सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले अबका दिनमा आपराधिक क्रियाकलाप र सबै किसिमका विकृति विसङ्गतिलाई त्यागेर नयाँ ढंगले अघि बढ्नुपर्ने समेत उनले बताए ।  ‘तपाईंहरु राष्ट्रको अवस्था परिवर्तन गर्ने उद्धेश्यले राजनीतिमा लाग्नुभएको हो । आफैं विचार गर्नुहोस् त, पार्टी र संगठनभित्र आपराधिक क्रियाकलापलाई बढावा दिएर के साँच्चै राष्ट्रको अवस्थामा परिवर्तन ल्याउन सकिएला त ?,’ उनले भने । 

अबका दिनमा विद्यार्थीहरुले विद्रोह मात्र गर्ने काममा आफूलाई सीमित बनाउन नहुने उनले बताए । विद्यार्थीले मष्तिष्कलाई चलाएर रचनात्मक कामहरुमा आफूहरुलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।  चापागाईंले आगामी असारभन्दा आगाडि नै नेविसंघको महाधिवेशन कार्यतालिका ल्याउन पनि आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update