Mero Chitwan
पार्टीलाई एक्लै बहुमत ल्याउन सबै एक हौँ : सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए।

पार्टीका काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत गराए। 

घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाइ थियो।  

उनले भने, ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नुछैन, तपाईहरुलाई थाहा नै छ। तर अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गर्दै देशभर नै पार्टी जित्नु आवश्यक छ।’

 

 

 

सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरुलाई समझदारीका साथ काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update