Mero Chitwan
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता

चितवन : भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ । 

सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर गरे । महानगर र सेन्ट्रल कलेजबीच ११ लाख २८ हजार २०० रुपैयाँको सम्झौता भएको हो । सम्झौता अनुसार सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । सेन्ट्रल कलेजले प्रतियोगिताका लागि सम्झौता रकम बराबरको खेल सामग्री सहयोग गर्नेछ ।

सम्झौतापछि महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हबको रुपमा बिकास गरिने बताईन् । मेयर कप क्रिकेटपछि फुटबल आयोजना गरिएको भन्दै दाहालले आगामी वर्ष अन्य खेललाई पनि समेट्दै खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासको योजना बनाएर अघि बढ्ने बताईन् । 

सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले ग्रासरुटबाटै फुटबलको बिकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता विद्यालयस्तरदेखि नै खेल र खेलाडीको बिकासका लागि महत्वपूर्ण हुने भएकाले महानगरसँग सहकार्य गरिएको बताए । उनले उनले खेल क्षेत्रको बिकासका लागि सहकार्य गर्न सेन्ट्रल कलेज सधैं तयार रहने बताए ।

चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको प्रतियोगिता बैशाख तेस्रो सातादेखि सुरु हुनेछ । प्रतियोगितामा भरतपुर महानगरभित्रका ४८ विद्यालय सहभागी हुनेछन् । ४८ विद्यालयबाट सामुदायिक र संस्थागत १२-१२ गरि २४ टोली प्रतियोगिताका लागि छनौट गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

उक्त २४ टोलीबीच लिग हुनेछ । ग्रासरुट फुटबलका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने कार्कीको भनाइ छ । संघले यसलाई महत्वपूर्ण कार्यकमको रुपमा लिएको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update