Mero Chitwan
इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि कोलकातालाई

चितवन- इन्डो–नेपाल ट्वान्टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले हात पारेको छ । रामपुरस्थित क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनलमा मधेश प्रदेशमाथि ३ रनको जित हात पार्दै कोलकाताले उपाधि उचालेको हो ।

१ सय ८९ रनको लक्ष्य पछ्याएको मधेशले ८ विकेटमा १ सय ८५ रनमात्र बनायो । मधेशलाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । तर क्रिजमा रहेका अभिषेक तिवारीले पहिलो र दोस्रो बलमा रन बनाउन सकेनन् । तेस्रो र चौथो बलमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे । २४ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए ।

अविजित ४९ रन बनाएका उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । विशाल सुस्लिङ २२ बलमा ५० रन बनाए । उनले ६ छक्का प्रहार गरे । साहिल पटेलले २९ बलमा ३६ रन बनाए । कोलकाताका सन्दीप गुप्ता ३९ रन खर्चिदै ३ विकेट लिए भने सौरभ यादव र अभिषेक सिंहले २–२ विकेट लिए । विजय यादवको नाममा एक विकेट रह्यो ।

टस हारेर ब्याटिङ गरेको कोलकाताले विकास चौधरीको अर्धशतकमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । विकासले ३७ बलमा ६ छक्का र ४ चौकासहित ६७ रन बनाए । सन्दीप गुप्ताले ३९ र रमन कदयनले २९ रन बनाए । मधेश प्रदेशका अभिषेक तिवारीले २८ रन खर्चिदै ४ विकेट लिए । विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले १–१ विकेट लिए ।

फाइनलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ द म्याच घोषित भए । विजेता टिमलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ट्रफी र पदक वितरण गरे । चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४ र भारतका २ टिम सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update