Mero Chitwan
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

२०६ रनको लक्ष्य पछ्याएको टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनायो । उसका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ऋद्धिमान साह र डेविड मिलरले समान २१-२१ रन बनाए भने अन्य खेलाडिले राम्रो रन बनाउन सकेनन् ।

चेन्नाइका लागि दीपक चाहार, मुस्ताफिजुर रहमान र तुशार देशपाण्डेले समान २-२ विकट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । चेन्नाइका लागि शिवम दुबेले सर्वाधिक ५१ रन बनाए। २३ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रले समान ४६-४६ रन बनाए। डेरिल मिचेल २४, अजिक्य रहाणे १२, समीर रजवी १४ बनाए ।

गुजरातका लागि राशिद खानले २ विकेट लिए भने साई किशोर र स्पेसर जोनसनले समान १-१ विकेट लिए।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update