Mero Chitwan
आयरल्यान्ड उल्भ्सविरुद्धको टी-ट्वेन्टी सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । आयरल्यान्ड उल्भ्सविरुद्धको टी-ट्वेन्टी सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ । त्रिविस्थित क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाल ७१ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको थियो । १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्स १२७ रनमा अलआउट भयो । पहिलो खेल ६ विकेट र दोस्रो खेलमा ७१ रनको जितसाथ नेपाले सिरिज क्लिन स्विप गरेको हो ।

नेपालले आज निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनाउँदा ओपनिङमा कुशल भुर्तेल र आसिफ सेखले ३४ रनको साझेदारी गरे । पहिलो खेलमा पनि चाँडै आउट भएका आसिफले आज पनि ११ रन मात्र जोड्न सके ।

पहिलो खेलमा अविजित रहेका कुशलले आज २५ रनको योगदान गरे । दुवै ओपनरलाई माथ्थिउ फोस्टरले क्याचआउट गराएका हुन् । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका अनिल साह १२ रनमा आउट भएपछि नेपालको खातामा ५६ रन पुगेको थियो । त्यसपछि कप्तान रोहित पौडेल र गुल्सन झाले इनिङ अघि बढाएका थिए । उनीहरुले ७१ रनको साझेदारी गरे । ४६ रन बनाएर अर्धशतकतर्फ उन्मुख भएका गुल्सन १४औं ओभरमा आउट हुँदा नेपालले चौंथो विकेट गुमायो ।

पाँचौं विकेटका रुपमा कप्तान रोहित व्यक्तिगत ३३ रनमा आउट हुँदा नेपालले १५७ रन बनाइसकेको थियो । रोहितलाई गाभिन होलेले कप्तान निल रकको हातबाट क्याचआउट गराए । आक्रामक इनिङ खेलेका कुशल मल्लले १३ रनमा ३४ रन जोडे । यससँगै नेपालले ठूलो योगफल जोडेको हो ।

नेपालविरुद्ध फोस्टर र बेन हृवाइटले दुई विकेट लिँदा फिनोन हृयान्ड र गाभिनले समान एक-एक विकेट लिए । जवाफमा आयरल्यान्डले १८ ओभर तीन बलमा सबै विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । आयरल्यान्डले राम्रो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । ओपनर स्टेफेन डोनी २६ रनमा रनआउट हुँदा आयरल्यान्डले ४२ रन बनाइसकेको थियो । कुशलले १७ रन बनाएका रोज अडयरलाई आउट गराए ।

क्याडे कारमिचेलले १८ र कप्तान रकले २१ रन जोडेका थिए । १४ ओभर एक बलमा रक आउट हुँदा आयरल्यान्डले सय रन पूरा गरेको थियो । बाँकी ६ ओभरमा उसले बाँकी पाँच विकेट गुमाएर २७ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा सोमपाल कामीले दुई विकेट लिए भने ग्यारेथ डेलानी रनआउट भए । समग्रमा सोमपाल र कुशल मल्लले तीन/तीन विकेट लिए । त्यसैगरी, करण केसी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update