Mero Chitwan
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती  सुदूरपश्चिमसँग पराजित

चितवन :  चितवनमा जारी इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेट च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराएको छ । बागमतीले दिएको एक सय रनको लक्ष्य १३ ओभरमा पूरा गरेर सुदूरपश्चिमले जित दर्ता गरेको हो ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले फिल्डिङ रोजेपछि बागमतीले पहिले ब्याटिङ गरेको थियो । बागमतीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनायो । ओपनर शुभ कंशाकर १४ रनमा आउट भए । ओपनिङमा ४५ रनको साझेदारी गरे पनि त्यसपछि कुनै खेलाडीले टिकेर खेल्न सकेनन् ।

रविन जोशी २, विवेक राना मगर ७, योगेश भट्ट ७, सुमन सुनार ४, उत्तम मगर २ रनमा आउट भएका थिए । इशान पाण्डेले ३६ रनको योगदान दिए पनि बागमतीले ठूलो लक्ष्य भने प्रस्तुत गर्न सकेन । सुदूरपश्चिमका भोजराज भाट र नरेन साउदले समान तीन/तीन विकेट लिएका थिए ।

जवाफमा सुदूरपश्चिमले १३ ओभरमा ३ विकेट मात्र गुमाएर जित दर्ता गरेको हो । उसले राम्रो ओपनिङ भने गर्न सकेन । दीपक बोहोरा १२, अभिषेक पाल ६ र प्रकाश पाण्डेले ४ रनमै पभेलियन फर्किए । यससँगै सुदूरले ४२ रनमै तीन विकेट गुमाएको थियो । तर खड्क बोहोरा र दीपक बोहोराले ५८ रनको अविजित साझेदारी गरेर सुदूरपश्चिमलाई जित दिलाए । खेलमा खड्कले २८ र दीपकले ३५ रनको इनिङ खेले । बागमतीका रामनरेश गिरीले दुई विकेट लिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update