Mero Chitwan
इन्डो नेपाल टी-ट्वेन्टीमा पीएसआर लखनउको लगातार तेस्रो जित

चितवन- चितवनमा जारी इन्डो नेपाल टी-ट्वेन्टी च्याम्पियनसिपमा पीएसआर लखनउले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा लखनउले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना मैदानमा लखनउले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १८ ओभरमा १ सय ८ रन बनाउँदै अलआउट भएको थियो । दीपक बोहोरा २ र खड्क बोहोरा ८ रनमा आउट भए । वसन्त कार्कीले खाता खोल्न सकेनन् । उनी गोल्डेन डकआउट भएका थिए ।

टेक रावत पनि मात्र ६ रनमा पभेलियन फर्किए । ओपनर अभिषेक पालले सर्वाधिक ३४ र कप्तान दीपक बोहोराले २७ रन थपे । यी दुईबाहेक सबै सिंगल रनमा आउट भएका हुन् । अर्पित शुक्ला र प्रिन्स शाहीले तीन/तीन विकेट लिए।

मोहम्मद सरिमले दुई, कार्तिक यादव र सन्दीप मित्तलले एक/एक विकेट हात पारे । जवाफमा लखनउले ११ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सरिम ६ रनमा दीपक बोहोराको बलमा आउट भएका थिए । शुभम चौधरीले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ८१ रन बनाउँदै आफ्नो टिमलाई सहज जित दिलाएका हुन् ।

साहिम हसन १९ रनमा अविजित रहे । लखनउ तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमको जारी प्रतियोगितामा दुई खेलमा यो पहिलो हार हो ।

आजै भएको अर्को खेलमा तालाताला कोलकाताले भरतपुर मेयर्सलाई ५ विकेटले हरायो । कोलकाताको यो लगातार दोस्रो जित हो ।

कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्थानीय टोली भरतपुरले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । खराब सुरुवात गरेको उसका ५ ब्याटर टिमको स्कोर मात्र ५५ रन हुँदा पभेलियन फर्किएका थिए ।

ओपनर जेनिश महत प्रशान्त श्रीवास्तवको बलमा ३ रनमा मैदान बाहिरिए । सोबेला भरतपुर ३४ रनरमा थियो । तर प्रशान्तले आफ्नो पहिलो ओभरमै तीन विकेट लिएपछि भरतपुरको इनिङ्स दबाबमा आएको थियो । रोशन झा २० रनमा आउट भए ।

कप्तान दीपेश श्रेष्ठले ४१ र गौतम केसीले २८ बलमा ५३ रन बनाएपछि कोलकाताले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो । जुन उसले १५ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । रमन काड्यानले ३५, सन्दीप गुप्ताले ३८ रनको योगदान दिए । कुनाल नागर २२ र सौरभ यादव ३८ रनमा अविजित रहे । क्रिजन गुरुङले दुई विकेट लिए । कोलकाता दुई खेलबाट चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भरतपुरको तीन खेलबाट दुई अंक छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update