Mero Chitwan
प्रज्ञा स्मृति साइक्लिङका यी हु्न् विजेता

चितवन-प्रज्ञा स्मृति साइक्लिङको उपाधि सशस्त्र प्रहरी बलका सुरज रानामगर र काठमाडौंकी उषा खनालले जितेका छन् ।

तेस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङअन्तर्गत पुरुष इलिटतर्फ सशस्त्र प्रहरीका सुरज रानामगर निर्धारित दूरी एक घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै प्रथम भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिए । रानामगरले उपाधिसँगै नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दूरी एक घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे ।  उहाँले  नगद रु ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्लले प्राप्त गर्दै नगद रु ३० हजार, मेडल र प्रमाणपत्र हात पार्न सफल भए । 

गणेशधामस्थित पुण्यवती तालको वरपर चार दशमलव पाँच किलोमिटर परिधिभित्रको रेस कोर्समा एक घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगीलाई सात पटकसम्म परिक्रमा गराइएको थियो । 

महिला इलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै उपाधि हासिल गरिन् ।काठमाडौँकै लक्ष्मी मगरले एक घण्टा १८ मिनेट २३ सकेण्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन् । पाँचथरकी इन्द्रकला नेबाङले एक घण्टा २१ मिनेट ३७ सकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो बन्न सफल भइन् । 

स्व ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ ।  पुरुष इलिटतर्फ प्रथम सिन्धुपाल्चोकका सुरज रानामगर र महिला इलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मलेसियामा हुने एसियन प्रतियोगितामा सहभागी हुने अवसरसमेत पाएको  कार्यक्रमका सहसंयोजक रवीन्द्र श्रेष्ठले जानकारी दिए । 

यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै उपधि हात पारे । काठमाडौँका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेण्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले एक घण्टा १९ मिनेट पाँच सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पारे । 

यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम भए । सुनसरीका सञ्जय राईले एक घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बने भने मकवानपुरका राजीव ठाकुरले एक घण्टा २३ मिनेट २८ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पारे । 
 
यसैगरी चितवन विशेष पुरुषतर्फ प्रमित थापा प्रथम, हेमचन्द्र सुनार दोस्रो र कृष्ण घिमिरेले तेस्रो स्थान हासिल गरे ।यसैगरी चितवन विशेष महिलातर्फ सुधा तिमिल्सिना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठले तेस्रो स्थान हासिल गरे । 

प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताइन् ।  भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरिन् । 

प्रतियोगितामा ८५ जना खेलाडीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update