Mero Chitwan
२०२७ को यू–१९ महिला विश्वकप गौतमबुद्ध रंगशालामै हुन्छ, ढुक्क हुनुस् : प्रमुख दाहाल

चितवन–भरतपुर महानगर प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामै हुने बताएकी छन्। 

ईण्डो नेपाल टी–२० च्याम्पियनसिपको उद्घाटन समारोहलाई आज गौतमबुद्ध रंगशालामा सम्बोधन गर्दै प्रमुख दाहालले उक्त अवधिसम्म रंगशाला बनिछाड्ने दृढता व्यक्त गरिन् । 

उनले यसका लागि क्रिकेट संघ, युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई आग्रह गरेको र सम्बद्ध निकायले पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको बताइन् । ‘विश्वकपका लागि हामी रंगशाला बनाइछाड्छौं, यो कुरामा हामी विश्वास दिलाउँछौं,’ उनले भनिन् । रंगशाला निर्माणका लागि गत फागुन १७ गते टेण्डर आह्वान गरेको र एक महिनापछि ठेकेदार छनोट गरी तीव्र गतिमा काम अघि बढाइने पनि उनले बताइन् ।  

उनले गौतम बुद्ध रंगशालालाई खाली राख्न नदिएको पनि बताइन् । हालै विद्यालयस्तरीय क्रिकेट लिग सकिएको रंगशालामा इण्डो नेपाल क्रिकेट लिग सञ्चालन भइरहेको र यसलगत्तै बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता पनि हुने उनले जानकारी दिइन्। 

उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने भरतपुरको लक्ष्य रहेको उल्लेख गर्दै हालै भएको विद्यालयस्तरीय क्रिकेट लिगका उत्कृष्ट खेलाडी जिल्ला टिममा पर्न सफल भएको पनि बताइन् । 

ईण्डो नेपाल टी–२० च्याम्पियनसिपको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी
प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ ले विजयी सुरुवात गरेको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भरतपुरले दिएको १५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि शुभ कंसकारले ८८ रनको विष्फोटक अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

bb-1711040854.JPG

भरतपुर मेयर्स ११ का लागि सौगात ढकालले ४, दिपेश श्रेष्ठले २ र गौतम केसीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भरतपुर मेयर्स ११ ले ८ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो । एक समय निकै खराब अवस्थामा रहेको भरतपुरलाई कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले विष्फोटक पारी खेल्दै सम्मानजनक अवस्थामा पुर्‍याएको थियो । गौतमले १५ बलमा ४ छक्का र एक चौकाको मद्धतमा ३४ रन बनाएर रामनरेश गिरीबाट बोल्ड आउट भए भने दिपेशले २३ बलमा २९ रन बनाए । प्रतिक श्रेष्ठले २० रन बनाए ।

बागमतीका लागि रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक विकेट लिए ।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update