Mero Chitwan
पोखरालाई आज पर्यटकीय राजधानी  घोषणा गरिने

पोखरा- देशकै प्रमुख पर्यटकीय शहर पोखरालाई आज औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम छ। सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने कार्यक्रम छ।

त्यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान/पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताएका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update