Mero Chitwan
भरतपुरमा वैशाखदेखि मेयरकप फुटबल लिग सञ्चालनको तयारी

चितवन : भरतपुरमा आगामी वैशाखदेखि विद्यालयस्तरीय मेयर कप फुटबल लिग सञ्चालन हुने भएको छ । 

प्रिमियर लिगको फम्र्याटमा होम एण्ड अवे गरी भरतपुरका विभिन्न फुटबल मैदानहरुमा खेलहरु हुनेछन्।  प्रतियोगिताका मुख्य प्रायोजकका लागि सेन्टल कलेज भरतपुरले प्रस्ताव आवेदन दिएको छ। प्रतियोगिताको सहआयोजक चितवन जिल्ला फुटबल संघ रहनेछ भने प्राविधिक सहयोगीका रुपमा एनएसएल क्लब एफसी चितवन रहनेछ।

प्रत्येक विद्यालयमा एन्फा लाइसेन्स भएका कोच हुनेछन्। सामुदायिक विद्यालयहरुमा महानगरबाट कोच,प्रशिक्षण र खेल सामग्रीको व्यवस्था गरिने र लिगका टिमहरुलाई फुटबल जर्सी दिइने महानगरले जनाएको छ । २ महिना चल्ने यो प्रतियोगितामा एन्फामान्यता प्राप्त प्राप्त रेफ्रीहरुले खेल खेलाउनेछन् भने एफसी चितवनले खेलाडीका लागि प्राविधिक कार्यशालासमेत आयोजना गर्नेछ। लिगको सम्पूर्ण प्राविधिक जिम्मेवारी चितवन जिल्ला फुटबल संघको हुनेछ।

विद्यालयस्तरका खेलाडीबाट नै प्रतिभा पहिचान गरी खेल क्षेत्रको जग बलियो बनाउने महानगरको उदेश्य अनुरुप यो लिग आयोजना गरिएको नगर प्रमुख रेनु दाहालले बताइन् । उनले महानगरले गर्ने खेल गतिविधिलाई कर्मकाण्डी होइन भविष्यको आधार बनाउने अभियानका रुपमा लैजान समेत निर्देशन दिएकी छन् । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update