काठमाडौं-नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ इलामको सामना गर्ने तालिका रहेको छ ।
पोखरा चौथो स्थानमा छ भने वीरगन्ज आठौँ स्थानमा छ । पोखरालाई अब प्ले अफ बचाउन जित्नै पर्ने दबाब बढ्दै गएको छ। नेपाली युवा खेलाडी र उत्कृष्ट विदेशी खेलाडी भएको पोखरा सन्तुलित टिम बनेको छ। उसले लिगको पाँचौँ खेलमा आएर मात्र पराजय बेहोरेको थियो । तर अब त्यसबाट अघि बढ्दै वीरगन्जलाई हराएर प्ले अफ नजिक पुग्ने लक्ष्य पोखराको छ ।
पछिल्लो खेलमा वीरगन्ज पेनाल्टीमा भाग्यमानी साबित भएपछि उसले अन्तिम समयमा गोल गरेर इलामलाई हराएको थियो । त्यो नै वीरगन्जको एकमात्र जित हो । लिगमा पाँच अंक मात्र भए पनि तीन खेल बाँकी रहेको वीरगन्जलाई अब जित दर्ता गरे प्ले अफमा पुग्ने अवसर बाँकी नै छ ।
सुरुआती दुई हारपछि सनोज श्रेष्ठको टोलीले प्रदर्शनमा पनि सुधार गर्दै आइरहेको छ । जारी, लिगमा चितवन र इलामले राम्रो खेल प्रदर्शन गर्दै आइरहेको भए पनि उनीहरू अंक तालिकामा भने धेरै कमजोर देखिएका छन् । लिगमा अंकको फरक धेरै नभए पनि चितवन पुछारबाट तेस्रो स्थानमा छ । बाँकी दुई खेलमा जित दर्ता गर्न सके सातौं स्थानको चितवनलाई पनि प्ले अफमा जाने अवसर मिल्नेछ ।