Mero Chitwan
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । 

अहिले संसदमा विश्वासको मतको प्रस्तावमाथि राजनीतिक दलहरुले विचार राखिरहेका छन् ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलोपटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । 

 नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत पाएका थिए । 

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत लिएका थिए जसमा उनले एक सय ७२ मत पाएका थिए भने विपक्षमा ८९ मत परेको थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलीय गठबन्धनको समर्थन पाएका दाहालले आज तेस्रोपटक  प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update