Mero Chitwan
झापा गोल्डकपको च्याम्पियन बन्यो चर्च ब्वाइज

झापा-झापा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले हात पारेको छ । 

 विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । विजयी बनेसँगै चर्च ब्वाइजले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

खेलको १२औँ मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्ले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२औँ फकुन्लेले नै गरे । मध्य भागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।

 तेस्रो गोल ८७ औँ मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । दुवै टोली मुख्य प्रशिक्षकबिना मैदानमा उत्रिएका हुन् । चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुवेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुुशील अधिकारी थिए ।

 यसअघि खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।   खेलको ‘म्यान अफ द म्याच’ विजेता टोली चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले रु ११ हजार पुरस्कार पाए । फागुन १९ गतेदेखि सुरु भएको छैटौँ झापा गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित १० टोलीको सहभागिता  थियो ।

 विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको वर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यसैगरी, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदीयमान खेलाडी झापा–११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए ।

गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । 

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update